
नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, अनिवार्य रुपमा १० अर्बको कारोबार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । टेलिकमले चालु आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका कम्पनीलाई सूची दर्ताका लागि आवेदन दिन आग्रह गरेको हो ।
सूचीकरणका लागि इच्छुक ब्रोकर कम्पनी प्रचलित कानुनअनुसार कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको तथा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।
टेलिकमका अनुसार ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको हुनुपर्नेछ। आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता प्रमाणसमेत पेस गर्नुपर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद–बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । ब्रोकरका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि अनिवार्य गरिएको छ । सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभवसमेत हुनुपर्ने टेलिकमले जनाएको छ ।


