
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पाँच वर्षसम्म कुनै हालतमा नटिक्ने दाबी गरेका छन्। जनतालाई त्रास र डरमा राख्नुका साथै बहुमतको नाममा मनपरी गरिरहेकाे बताउँदै उनले बालेन्द्र शाह नेतृत्वकाे सरकार पाँच वर्ष नपुग्दै ढल्ने विश्लेषण सुनाएका हुन्।
शनिबार नगरकोटमा आयोजित एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएका शक्तिलाई लामो समय देशको जिम्मेवारी दिन नसकिने बताए। उनले वर्तमान सरकारबाट लोकतन्त्र अपहरित र संविधान मिचिएको आरोपसमेत लगाए।
‘यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन,’ ओलीले भने, ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र?’
ओलीले सरकार गठनको दिन आफूलाई गिरफ्तार गरेर सर्वसाधारणलाई समेत त्रासमा पार्न खोजिएको आरोप लगाए। ‘सरकार बनेको दिन पहिलो निर्णय केपी ओलीलाई समाउने भन्ने गरेर रातभर लगाएर बिहानपख गिरफ्तार गर्यो,’ उनले भने, ‘केपी ओलीलाई त समाइयो, अरूलाई के हो र भनेर थर्कमान गराउन मलाई समाइयो।’
ओलीले वर्तमान सरकारका गतिविधिका कारण जनतामा डर, त्रास र आतंक सिर्जना भएको दाबी गरे। कसैलाई जेल हाल्ने, बदनाम गर्ने, सम्पत्ति जफत गर्ने वा बैंक खाता बन्द गराउनेजस्ता गतिविधि भइरहेको आरोप लगाउँदै ओलीले सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने बताए।
ओलीले रास्वपालाई बहुमत दिएकोमा जनतामा पश्चात्ताप सुरु भइसकेको दाबी पनि गरे। उनले पार्टीका नेता–कार्यकर्तालाई सरकारविरुद्धको परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।
उनले वर्तमान अवस्थालाई ‘प्रतिगमन’को संज्ञा दिँदै अपहरित लोकतन्त्र फिर्ता ल्याउने, मिचिएको संविधानलाई पुनः स्थापित गर्ने र देशलाई सुशासन तथा विकासको बाटोमा फर्काउने दाबी गरे। ‘दरबार छोडाएर गणतन्त्र ल्याएका शक्ति हौँ, हामी कसैसँग डराउँदैनौँ,’ ओलीले भने, ‘यी तत्त्वहरूसँग हामी डराउँदैनौँ, डराउनुहुन्न।’

