
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्। घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ।
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको आक्रमणलाई ‘अत्यन्त निन्दनीय’ भन्दै दुई चरणमा आक्रमण गरिएको बताएका छन्। उनका अनुसार पहिलो आक्रमणपछि उद्धार तथा राहतकर्मीहरू घटनास्थलमा पुगिरहेका बेला दोस्रो ड्रोनले त्यही क्षेत्रमा प्रहार गरेको थियो।
बीबीसीले प्रमाणित गरेको भिडियोमा आगलागी भइरहेको सपिङ मलमा दोस्रो ड्रोन ठोक्किएको देखिन्छ। रुसी सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
डिनिप्रोपेत्रोभ्स्क क्षेत्रका प्रमुख ओलेक्सान्द्र हान्जाले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरेका छन्। उद्धारका लागि युक्रेनका अन्य चार क्षेत्रबाट थप टोली घटनास्थलतर्फ पठाइएको छ। यसअघि एक दिनमै राजधानी किभमा रुसी मिसाइल र ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको थियो। पछिल्ला घटनासँगै युक्रेनमा रुसी हवाई आक्रमणबाट हुने मानवीय क्षति थप बढेको छ।

