
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग

काठमाडौं । होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने चारतारे र पाँचतारे होटलमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा हानका अध्यक्ष विनायक शाहले यस्तो माग गरेका हुन् ।
शाहले क्यासिनो सञ्चालनमा होटललाई अनिवार्य रूपमा साझेदार बनाउँदा क्यासिनो बन्द भएपछि उत्पन्न हुने कानुनी तथा आर्थिक दायित्वसमेत होटलले व्यहोर्नुपर्ने अवस्था आउने बताए । होटल व्यवसायीले अहिले पनि क्यासिनोसम्बन्धी मुद्दा मामिला झेलिरहेको भन्दै होटललाई क्यासिनोमा अनिवार्य साझेदार बनाउनु उचित नभएको उनको तर्क थियो ।
‘क्यासिनो बन्द भएर भागिसकेपछि त्यसको मार आज पनि होटलले भोगिरहेका छन्, मुद्दा मामिला झेलिरहेका छन्,’ शाहले भने । उनले क्यासिनोमा होटलले लगानी गर्न चाहेमा मात्र सेयर लिन पाउने गरी ऐच्छिक व्यवस्था गर्नुपर्ने बताए । विगतका छलफलमा समेत क्यासिनोमा होटलको सेयर अनिवार्य नभई ऐच्छिक हुनुपर्ने सहमति भएको दाबी गर्दै उनले मस्यौदामा पुनः १० प्रतिशत अनिवार्य सेयरको व्यवस्था राखिएकामा आपत्ति जनाए ।
यसैगरी, विधेयकको दफा ४० मा क्यासिनोमा वैदेशिक संयुक्त लगानीलाई अनुमति दिने व्यवस्था गरिए पनि होटल क्षेत्रमा वैदेशिक संयुक्त लगानीलाई पर्याप्त प्रोत्साहन नगरिएको भन्दै शाहले असन्तुष्टि व्यक्त गरे । नेपालमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका होटल सञ्चालनमा रहेको उल्लेख गर्दै उनले होटल क्षेत्रमा प्रविधि र विदेशी लगानी भित्र्याउन वैदेशिक संयुक्त लगानीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
शाहले होटल व्यवसायलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा योगदान गर्ने अवसर दिनुपर्ने माग गरे । क्यासिनोको खुद आयको २ प्रतिशत सीएसआरमा खर्च गर्न पाउने व्यवस्था प्रस्ताव गरिएझैँ होटललाई पनि खुद आम्दानीको निश्चित प्रतिशत रकम सीएसआरमा खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
यसैबीच, प्रस्तावित पर्यटन विधेयकमा सगरमाथा आरोहण गर्न चाहने व्यक्तिले कम्तीमा ७ हजार मिटरभन्दा अग्लो कुनै एक हिमालचुली आरोहण गरिसकेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । उक्त व्यवस्थासहित पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न प्रावधानमाथि समितिमा छलफल भइरहेको छ ।

