
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ चुनातालस्थित बासुकीस्थानमा आज विशेष धार्मिक तथा साँस्कृतिक मेला लागेको छ । यहाँ निर्मित भगवान् शिवको मूर्तिमा नागपञ्चमीको अवसर पारी जिल्लाका जनप्रतिनिधिको उपस्थितिमिा विभिन्न पुरोहितद्वारा प्राणप्रतिष्ठा गरिएको हो ।
स्थानीय चुनाताल खैजेडी भजन तथा सांस्कृतिक मञ्चको आयोजना तथा चुनाताल-बासुकी टोल विकास संस्थालगायत स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित मेलामा धार्मिक अनुष्ठानसँगै स्थानीय जातजातिका मौलिक, सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा तथा राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारले प्रस्तुति साङ्गितीक प्रस्तुती दिए ।
स्थानीय मौलिक धार्मिक परम्परा, बहुसांस्कृतिक पहिचान र लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नागपञ्चमीको अवसर आयोजना हुने मेलालाई निरन्तरता दिँदै आइएको आयोजकले जनाएका छन् । १६औँ शताब्दीदेखि यहाँ निरन्तर रूपमा नागपञ्चमीका दिन बासुकी नागको पूजा गरिँदै आइएको बनेपा-३ का वडाध्यक्ष रमेश दाहालले बताए ।
उनका अनुसार यो स्थान पर्यटकीय दृष्टिकोणलेसमेत आर्कषक रहेकाले दसैँ, नागपञ्चमीलगायत विशेष चाडपर्वमा मेला लाग्ने गर्दछ । समुन्द्री सतहबाट एक हजार ९०० मिटर अग्लो स्थानमा अवस्थित बासुकी नागको प्रतिमामा पूजा गर्दा प्रकृतिले प्रदान गर्ने सबै वस्तु सहज रूपमा प्राप्त हुने जनविश्वास रहिआएको वडाध्यक्ष दाहालले बताए ।
“समुद्र मन्थनको कथासँगै भगवान् शिवसँग बासुकी नागको घनिष्ठ सम्बन्ध रहेको धार्मिक मान्यता रहेअनुसार टौदह तथा काभ्रेपलाञ्चोकको पनौती र आसपासको क्षेत्रमा बासुकी नागसँग सम्बन्धित अनेकौँ किंवदन्ती र धार्मिक विश्वास पाइन्छन्”, उनले भने । कार्यक्रममा प्रतिनिधिसभा सदस्य बदन भण्डारीले बासुकीस्थान धार्मिक पर्यटनसँग जोडिएकाले यस क्षेत्रलाई संरक्षण र सम्बर्द्धन गर्न सबै क्षेत्र, व्यक्ति र निकाय लाग्नुपर्ने बताए ।
उनले भने, “अब बनेपामा पर्यटनसँगै औद्योगीकीकरण क्षेत्र निर्माणमा जोड दिनुपर्छ ।” जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यलगायतले बासुकीस्थानलाई प्रवर्द्धन र विकास गर्न थप पूर्वाधार निर्माणको आवश्यकता औँल्याउँदै सबैले आआफ्नो तहबाट सकारात्मक प्रयास गर्ने प्रतिबद्धता जनाए।

