
खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
यसअघि २०८३ साल साउन २६ गतेको बैठकमा गणपूरक संख्या (कोरम) नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। सोमबारको बैठकमा सभामुख अर्यालले सोही प्रस्तावलाई पुनः प्रस्तुत गर्दै सदस्यहरूको राय मागेका थिए।
सभामुखले हुन्छ वा हुन्न भनी ध्वनी मतका लागि आह्वान गर्दा प्रस्तावको पक्षमा बहुमत सदस्यहरूले हुन्छ भनी समर्थन जनाएका थिए। ‘हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु’’ सभामुख अर्यालले बैठकमा भने।
प्रस्ताव स्वीकृत भएसँगै अब विधेयकमाथि दफावार छलफल र संशोधनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।

