
‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन् ।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज यहाँ उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए ।
मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताए । ‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ उनले भने।
पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर समयानुकूल शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए ।

