
पोस्टपेड सिम नामसारीको विवरण अब अनलाइनबाटै भर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको सिमकार्ड नामसारी प्रक्रियालाई थप सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन्। त्यसका लागि सुरुमा मोबाइल नम्बर प्रविष्ट गरी प्राप्त हुने ओटीपीमार्फत प्रक्रिया अघि बढाउनुपर्नेछ।
अनलाइन फाराममा हालका ग्राहक र नामसारी हुने नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्नुपर्नेछ। साथै, पछिल्लो एक महिनामा उक्त सिमबाट कल गरिएका पाँचवटा मोबाइल नम्बरको विवरणसमेत उपलब्ध गराउनुपर्नेछ।
अनलाइनबाट विवरण भरेपछि अन्तिम प्रमाणीकरणका लागि भने नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। त्यस क्रममा नामसारी दस्तुर बुझाउनुका साथै सक्कल नागरिकता प्रस्तुत गर्नुपर्नेछ। ग्राहक स्वयं उपस्थित हुन नसकेमा प्रतिनिधिमार्फत पनि अन्तिम प्रमाणीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने भएपछि कार्यालयसम्म ग्राहक स्वयं उपस्थित हुनुपर्ने बाध्यता हट्ने र सिम नामसारी प्रक्रिया थप सहज हुने टेलिकमको अपेक्षा छ। हाल यो सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध हुनेछ। कर्पोरेट ग्राहकले भने सिम नामसारीका लागि सम्बन्धित नेपाल टेलिकम कार्यालयमै उपस्थित हुनुपर्नेछ।

