
१२ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा १२ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १२ प्रतिशतले नाफा बढेको हो ।
बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको भन्दा ५.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको अन्तिम चौमासिकसम्मको अवधिमा यो बैंकको यस्तो आम्दानी १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब २८ करोड रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा खुद कारोबार आम्दानी ४८ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको भन्दा ११.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी ७ अर्ब ४४ करोड ६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँबाट बढेर ३ अर्ब १६ करोड ४७ लाख पुगेको छ ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९३ करोड ६४ लाख रुपैयाँ थियो । बैंकको वार्षिकीकरण गरिएको वितरणयोग्य मुनाफा प्रतिसेयर ७ रुपैयाँ ५१ पैसा रहेको छ । असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चित मुनाफा ९८ करोड २० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९ पैसा रहेको छ ।

