
२८ प्रतिशतले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.९४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा रहेको छ।
असार मसान्तसम्ममा १ अर्ब ९० करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ १० पैसा रहेको छ । २० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेका छ ।

