
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको नाफामा वृद्धि देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ६३ प्रतिशतले नाफा बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.१३ प्रतिशत र सञ्चालन मुनाफा ८१.२६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ६८ करोडबाट घटेर ८२ करोड ९३ लाख रुपैयाँमा झरेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८२ पैसा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ ।
१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । बैंकले चौथो त्रैमासिक अन्त्यसम्ममा २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

