
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको लेखा तथा कर सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । दुई दिने लेखा तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रशिक्षण तथा तालिम सञ्चालन समितिको संयोजनमा सुन, चाँदी, रत्न तथा आभुषण व्यवसायलाई प्रचलित कानुनबमोजिम व्यवस्थित, पारदर्शी तथा सहज रूपमा सञ्चालन गर्न व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले गरे । कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माले गरेका थिए भने महासंघका लेखा परामर्शदाता एवं प्रशिक्षण चार्टर्ड एकाउन्टेन्ट महेश पोख्रेलले प्रदान गरेका थिए ।
प्रशिक्षणका क्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक खरिद तथा बिक्री खाता एवं डे–बुकमा कारोबार अभिलेखीकरण, स्टक व्यवस्थापन, ज्याला तथा जर्तीको अभिलेख, अन्य खर्चहरूको लेखाङ्कन, सेवाप्रवद्र्धन शुल्क, स्रोतमा कर कट्टी, कर प्रशासन तथा लेखा प्रणालीसम्बन्धी विभिन्न प्रक्रियाहरूका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रममा रत्न तथा आभुषण क्षेत्रका २१ जना व्यवसायी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षण कार्यक्रमलाई अत्यन्त उपयोगी, व्यावहारिक तथा उपलब्धिमूलक रहेको उल्लेख गर्दै कार्यक्रम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका थिए ।
सहभागीहरूले व्यवसाय सञ्चालनका क्रममा लेखा तथा करसम्बन्धी विषयमा देखिने व्यावहारिक समस्या समाधान गर्न यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

