
मोर्बिडेलीको नयाँ एड्भेन्चर बाइक टी२५० एक्स नेपाली बजारमा, मूल्य सवा ६ लाख रुपैयाँ

काठमाडौं। मोर्बिडेलीको नयाँ एड्भेन्चर बाइक टी२५० एक्स नेपाली बजारमा सार्वजनिक भएको छ। आजबाट सुरु भएको नाइमा एक्स्पोमा उक्त बाइक सार्वजनिक गरिएको हो। बाइकको मूल्य ६ लाख २० हजार रुपैयाँ तोकिएको छ। एड्भेन्चर बाइकप्रति बढ्दो आकर्षणलाई ख्याल गरी कम्पनीले यो मोडल ल्याएको हो।
कम्पनीका अनुसार मोर्बिडेली ब्रान्डअन्तर्गत नेपाली बजारमा उपलब्ध हुने टी २५० एक्स सबैभन्दा किफायती एड्भेन्चर मोटरसाइकल हुनेछ। हाल नेपाली बजारमा मोर्बिडेलीका टी ३५२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर उपलब्ध छन्।
टी २५० एक्समा २४९.४ सीसीको सिंगल सिलिन्डर, फोर-भल्भ, एयर-कुल्ड, ईएफआई इन्जिन जडान गरिएको छ। यसले ७,५०० आरपीएममा अधिकतम २२.४ हर्सपावर तथा ६,००० आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ।
सिक्स-स्पिड गियरबक्ससहितको मोटरसाइकलको अधिकतम गति करिब ११५ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले जनाएको छ। कम तथा मध्यम आरपीएममै पर्याप्त टर्क उपलब्ध हुने भएकाले शहरमा दैनिक प्रयोगदेखि अफरोड ट्रेलसम्म बाइकले सहज राइडिङ अनुभव दिने दाबी गरिएको छ।
र्याली एड्भेन्चर बाइकबाट प्रेरित इटालियन डिजाइनमा तयार गरिएको टी २५० एक्समा हल्का तौल, उच्च ग्राउन्ड क्लियरेन्स, लङ-ट्राभल यूएसडी फ्रन्ट फोर्क र प्रिलोड एड्जस्टेबल रियर मोनोसक सस्पेन्सन दिइएको छ।
डबल क्रेडल फ्रेममा आधारित यो मोटरसाइकलमा स्पोक ह्विल, अगाडि पछाडि डिस्क ब्रेक र डुअल पर्पस टायर प्रयोग गरिएकाले पक्की तथा कच्ची दुवै सडकमा राम्रो नियन्त्रण र स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ।

