
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘इन्डि’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, ११० किलोमिटर रेन्जसहित यस्ता छन् विशेषता

काठमाडौं । नेपालमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर पछिल्लो समय निकै चर्चामा रहेको भारतीय इलेक्ट्रिक स्कुटर ‘इन्डि’ आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ।
भारतको बैंंग्लोरमा मुख्यालय रहेको रिभर मोबिलिटी कम्पनीले उत्पादन गरेको यो स्कुटर आफ्नो भिन्न डिजाइन र उपयोगिताका कारण ‘स्कुटरको एसयूभी’ भनेर चिनिन्छ।
भारतीय बजारमा सफल उपस्थिति
रिभर मोबिलिटीले छोटो समयमै भारतीय बजारमा बलियो पकड जमाउन सफल भएको छ। हाल भारतका विभिन्न सहरहरूमा कम्पनीका ८० वटा शोरुमहरू सञ्चालनमा छन्। उत्कृष्ट प्रदर्शन र आकर्षक लुक्सका कारण कम्पनीले प्रतिमहिना करिब ६ हजार थान स्कुटर बिक्री गर्दै आएको छ। सोही सफलतालाई मध्यनजर गर्दै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति जनाएको हो।
विशाल स्टोरेज र उपयोगिता
इन्डि इलेक्ट्रिक स्कुटरको सबैभन्दा मुख्य आकर्षण यसको स्टोरेज स्पेस हो। यसमा ५५ लिटरको विशाल स्टोरेज क्षमता रहेको छ, जुन हाल बजारमा उपलब्ध अन्य स्कुटरहरूको तुलनामा निकै धेरै हो। सिटमुनिको ठूलो स्पेसका साथै यसमा अन्य व्यावहारिक स्टोरेज अप्सनहरू पनि दिइएको छ, जसले गर्दा धेरै सामान बोक्नुपर्ने प्रयोगकर्ताहरूका लागि यो निकै उपयोगी सिद्ध हुने देखिन्छ।
शक्तिशाली ब्याट्री र रेन्ज
प्राविधिक पक्षतर्फ यो स्कुटर निकै सबल रहेको छ। यसमा ४ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको छ। स्कुटरमा रहेको मोटरको पिक पावर क्षमता ६.७ किलोवाट रहेको छ, जसले गर्दा यसले उकालो र कठिन सडकहरूमा पनि उत्कृष्ट पिकअप प्रदान गर्दछ। कम्पनीको दाबी अनुसार यो स्कुटरलाई एक पटक फुल चार्ज गर्दा ११० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ।
नेपाली बजारमा अपेक्षा
नेपालमा विद्युतीय सवारी साधन प्रतिको बढ्दो आकर्षण र व्यावहारिक स्कुटरको खोजी भइरहेका बेला ‘इन्डि’ को आगमनले नयाँ प्रतिस्पर्धा थप्ने विश्वास गरिएको छ। ठूलो टायर, सुरक्षाका लागि डिस्क ब्रेक र आधुनिक फिचर्सहरूले भरिपूर्ण यो स्कुटरले युवा पुस्तादेखि व्यावसायिक प्रयोजनका लागि खोज्ने ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
नाइमा मोबिलिटी एक्स्पोमा यो स्कुटर अवलोकन गर्न र बुकिङ गर्न चाहने ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको छ।

