
राजु पाण्डे प्रकरणपछि सांसदहरूलाई रवि किरण हमालको चेतावनी, सांसद ज्यु मर्यादामा बस्नुस्

काठमाडौं । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले नेपाली सेनाका अधिकृत राजु पाण्डेसँग सांसदद्वारा गरिएको अमर्यादित व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। हमालले संसद सदस्यको पद दादागिरी गर्ने लाइसेन्स नभएको उल्लेख गर्दै विधायकी मर्यादा, संवैधानिक सीमारेखा र राज्यका संस्थाप्रतिको सम्मान प्रत्येक निर्वाचित प्रतिनिधिको पहिलो दायित्व भएको बताएका छन्।
“ए सांसदहरू हो, आफ्नो मर्यादामा बस्नु। हद हुन्छ नि। संसदको गरिमा र जिम्मेवारी बिर्सिएर नेपाली सेनाका अधिकृत राजु पाण्डेसँग गरिएको तल्लो स्तरको व्यवहार घोर निन्दनीय छ। सांसद हुनु दादागिरी गर्ने लाइसेन्स होइन। विधायकी मर्यादा, संवैधानिक सीमारेखा र राज्यका संस्थाप्रतिको सम्मान बिर्सिने छुट कसैलाई छैन,” हमालले भने।
उनले लोकतान्त्रिक व्यवस्थामा संसद, नेपाली सेना, न्यायपालिका तथा अन्य संवैधानिक संस्थाबीच पारस्परिक सम्मान र संस्थागत मर्यादा कायम रहनुपर्नेमा जोड दिए। कुनै पनि जनप्रतिनिधिले आफ्नो पद र अधिकारको दुरुपयोग गरी राज्यका संस्थामाथि अनावश्यक दबाब सिर्जना गर्ने वा सार्वजनिक रूपमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ।
हमालले लोकतन्त्रको बल व्यक्तिको हैसियतमा नभई संस्थाको मर्यादा र कानुनी शासनमा निहित रहेको उल्लेख गर्दै सबै जनप्रतिनिधिलाई आफ्नो संवैधानिक जिम्मेवारी र सार्वजनिक आचरणप्रति जिम्मेवार हुन आग्रह गरेका छन्।

