
निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन सरकारले बैंकिङ क्षेत्रसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा उनले बजेटले आर्थिक रूपान्तरणको स्पष्ट खाका कोरेको उल्लेख गर्दै अबको मूल ध्यान त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने बताए ।
अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।
छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति पनि चासो व्यक्त गरेका थिए ।अर्थमन्त्रीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड पनि दिए । छलफल केवल समस्या पहिचानमा मात्र सिमित नहुने स्पष्ट पार्दै उहाँले प्राप्त सुझावहरूलाई कार्यान्वयनको ठोस मार्गचित्रमा ढालिने आश्वासन दिए ।
अर्थमन्त्री वाग्लेले भने,‘कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्युन हुँदा र बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा पनि कर्जाको माग बढ्न नसक्नु र लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय हो । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन् । जहाँ कानूनी र प्रक्रियागत सुधार आवश्यक छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्ने छैन ।’

