
निलम्बित बीमा कम्पनीका सीईओले बागमतिमा हामफाले

काठमाडौं । गम्भीर कानुनी विवादमा मुछिएर पदबाट निलम्बित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोक्कालाई सोमबार बागमती नदीबाट उद्धार गरिएको छ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१३ निवासी ५९ वर्षीय रोक्कालाई दिउँसो करिब साढे ४ बजे थापाथलीस्थित प्रहरी बिट पछाडिको बागमती क्षेत्रबाट स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेका हुन्। उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको छ। रोक्काको शरीरमा बाहिरी चोटपटक नदेखिएको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकीय निगरानी भइरहेको छ।
पारिवारिक स्रोतका अनुसार रोक्का पछिल्लो करिब एक महिनादेखि मानसिक स्वास्थ्यसम्बन्धी उपचारमा थिए। यद्यपि, सोमबारको घटनालाई उनको स्वास्थ्य अवस्था वा उनीविरुद्ध चलिरहेको मुद्दासँग तत्काल जोडेर निष्कर्ष निकाल्न नमिल्ने प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको छ।
कृषि विकास बैंकको डिजिटल बैंकिङ विभागको प्रमुखबाट अवकाश पाएका रोक्का त्यसपछि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए। तर कम्पनीको इजाजतपत्र प्राप्त गर्ने क्रममा झुटा विवरण तथा कागजात पेस गरेको, नियामकीय प्रक्रिया उल्लंघन गरेको र धितोपत्र तथा बीमासम्बन्धी कानूनविपरीत काम गरेको आरोपमा गत जेठ २८ गते मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका थिए।
सोही प्रकरणमा कम्पनीका निलम्बित अध्यक्ष दिनेश सरियासहित सञ्चालक नितेश मालपानी र भानुभक्त अर्यालविरुद्ध पनि धितोपत्रसम्बन्धी कानून तथा बीमा ऐनअन्तर्गत मुद्दा दायर भएको छ। कम्पनीको लाइसेन्स प्रक्रियासँग जोडिएको मुद्दा विचाराधीन रहेकै अवस्थामा रोक्कासँग सम्बन्धित पछिल्लो घटना सार्वजनिक भएको हो। प्रहरीले घटनाको पृष्ठभूमि, उनी त्यहाँ पुग्नुको कारण तथा त्यसअघि भएका गतिविधिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

