
अमेरिका-इरान युद्ध रोकिएसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट, ६ प्रतिशतभन्दा बढीले घट्यो मूल्य

काठमाडौं । अमेरिका र इरानबीच दुई सातादेखि जारी आक्रमणहरू सप्ताहन्तमा रोकिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार ६ प्रतिशतभन्दा बढीले घटेको छ। दुवै पक्षले सैन्य कारबाही स्थगित गरेसँगै कूटनीतिक समाधानको सम्भावना बढेको, साथै होर्मुज जलडमरूमध्यबाट तेल ढुवानी पुनः सहज हुने अपेक्षाले तेल बजारमा दबाब परेको हो।
ब्रेन्ट, कच्चा तेलको मूल्य सोमबार बिहान प्रति ब्यारेल ६.२० डलर अर्थात् ६.४ प्रतिशतले घटेर ९०.५८ डलरमा झरेको छ। कारोबारका क्रममा ब्रेन्टको मूल्य केही समयका लागि प्रति ब्यारेल ९० डलरको महत्त्वपूर्ण समर्थन स्तरभन्दा तल पनि पुगेको थियो।
त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) कच्चा तेलको मूल्य ५.८० डलर अर्थात् ६.५ प्रतिशतले घटेर प्रति ब्यारेल ८३.५१ डलरमा कारोबार भएको छ।
दुवै सूचकको मूल्य पछिल्लो करिब एक साताकै न्यून स्तरमा झरेको हो। यसअघि लगातार तीन सातासम्म बढ्दो क्रममा रहेको तेलको मूल्य अहिले तनाव कम हुने संकेतसँगै ओरालो लागेको हो।
अमेरिका–इरानबीचको द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने तेल आपूर्तिमा अवरोध आएको थियो। त्यसको प्रभाव लाल सागर क्षेत्रमा पनि फैलिँदा विश्वकै प्रमुख तेल निर्यातकर्ता साउदी अरेबियाबाट बाब अल–मन्देब जलडमरूमध्य हुँदै एसियातर्फ हुने निर्यातसमेत प्रभावित भएको थियो। यही कारण ब्रेन्ट कच्चा तेलको मूल्य केही समयअघि प्रति ब्यारेल १०० डलरसम्म पुगेको थियो।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासका लागि थप समय उपलब्ध गराउन अमेरिकी आक्रमणहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छन्।
यद्यपि दुवै देशबीच आक्रमण रोकिएको भए पनि, जहाज ट्र्याकिङ कम्पनी क्प्लरको तथ्यांकअनुसार सप्ताहन्तमा होर्मुज जलडमरूमध्यबाट दैनिक १० भन्दा कम वस्तुवाहक जहाज मात्रै आवतजावत गरेका छन्।
यसैबीच, यमनका हुथी विद्रोहीहरूले लाल सागर तटीय क्षेत्रमा रहेका साउदी अरेबियाका तेल पूर्वाधारमा आक्रमण गरेपछि आइतबार बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुने जहाज आवतजावत पनि घटेको छ। यद्यपि, एक चिनियाँ सुपरट्यांकर भने बाब अल–मन्देब जलडमरूमध्य हुँदै सुरक्षित रूपमा बाहिरिएको जनाइएको छ।

