
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा करिब २० प्रतिशतकाे गिरावट

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा १९.९८ प्रतिशतको गिरावट आएको हो ।
समीक्षा अवधिमा ब्याज खर्चमा भएको वृद्धि र खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको नाफा प्रभावित भएको देखिन्छ । गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब ९० करोड रहेको बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोडमा सीमित भएको छ । निक्षेप र ऋण उपकरणको लागत बढ्दा बैंकको ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
बैंकले गत आर्थिक वर्ष २१ करोड २७ लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले नाफामा थप ठूलो गिरावट हुनबाट जोगिएको छ । ग्राहक तथा पूर्वाधार आयोजनाहरूमा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकले कुल ५६ अर्ब १३ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको र आयोजनाको प्रगति अनुसार रकम निकासा हुँदै जाने जनाएको छ ।
बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम रहेको छ । बैंकको निष्क्रिय कर्जा शून्य प्रतिशत रहेको छ । जुन समग्र बैंकिङ क्षेत्रकै लागि उदाहरणीय हो । बैंकको कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, बेस रेट ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी ४.५७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

