
साग्रिला डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य वृद्धि, लाभांश क्षमता कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले नाफा बढेको हो ।
बैंकको खुद नाफा, प्रति सेयर आम्दानी र वितरणयोग्य नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ । गत असार मसान्तसम्ममा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको यस्तो नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २ अर्ब ७ करोड रहेकोमा गत आर्थिक वर्ष १६.८३ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा उल्लेख्य रूपमा घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको यस्तो चार्ज ३४ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
लाभांश क्षमतामा सुधार
गत असार मसान्तसम्म बैंकको लगानीकर्ताहरूलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो। बैंकको विद्यमान चुक्ता पूँजी (३.७३ अर्ब रुपैयाँ) का आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ । अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ३६ पैसा थियो ।
बैंकले ग्राहकबाट सङ्कलन गरिएको निक्षेप ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ४२ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष बढेर ६.८७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३.८३ रुपैयाँ र प्रतिसेयर नटवर्थ १६९.५० रुपैयाँ रहेको छ ।

