
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ

रौतहट । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।
दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारकै क्रममा राति १२ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको बारा प्रहरी प्रवक्ता डीएसपी मीन बहादुर घलेले बताएका छन्।
त्यसैगरी सोही स्थानका ५० वर्षीय देवनारायण चौधरीको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा मिनी ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकतर्फको पर्खाल भत्किएको प्रहरीले जनाएको छ। घटनापछि सडक अवरुद्ध नभएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

