
सरकारले ल्यायो बिलमा आधारित पुरस्कार योजना, बिल लिएर बन्न सकिनेछ लखपति

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै नयाँ पुरस्कार योजना सञ्चालन गर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट बिल लिने नागरिकहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।
‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने अवधारणासहित ल्याइएको योजनाअन्तर्गत १०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिएर भुक्तानी गर्दा प्राप्त हुने बिल नम्बर नै पुरस्कारका लागि आधार बन्नेछ ।
अर्थ मन्त्रालयका अनुसार योजनामा सहभागी हुन उपभोक्ताले अनलाइन वा नगद माध्यमबाट भुक्तानी गरी आधिकारिक बिल लिनुपर्नेछ । बिल नम्बरका आधारमा छनोट भएका सहभागीमध्ये हरेक दिन एक जना नेपाली नागरिकलाई लखपति बनाइनेछ भने हरेक महिना दुई जनालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ ।
योजनाको घोषणा हाललाई हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा गरिने मन्त्रालयले जनाएको छ । सरकारले बजेटमा घोषणा गरेको यस कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक कार्यविधि तयार गरिएको छ ।
Loading Viewer...

