
बम्बे स्टक एक्सेन्ज (बीएसई)मा नेपालका दीपजंग थापाको क्रतिकल टेक सुचिकृत आईपीओले इतिहास रच्यो

काठमाडौं । नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको भारतमा मुख्यालय रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ। उसको प्राथमिक शेअर निष्कासन (आईपीओ) बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा आकर्षक रूपबाट २०५.०८ गुणा ओभरसब्सक्राइब भएको छ। सम्भवत यो भारतीय शेयर बजारमा नेपाली उद्यमी जोडिएको पहिलो सूचीकरण हो।
उक्त आईपीओ असार १६ मा खुला भएर असार १८ मा बन्द गरिँदा त्यसले लगानीकर्ताहरूको अत्यधिक विश्वास प्राप्त गरेको पाइएको हो। सन् २०१३ मा इन्जिनियरिङ पढ्ने क्रममा तीन कलेज साथीहरू – दीपजंग थापा, पवन कुमार र परतोष कुमारद्वारा स्थापित – क्रतिकल टेक लिमिटेड अत्याधुनिक साइबर सुरक्षा सम्बन्धी समाधानहरूको एक विश्वसनीय प्रदायकको रूपमा स्थापित नाम बनेको छ। नेपालको खोटाङ मूल घर भएका सह-संस्थापक थापा उक्त कम्पनीमा चीफ अपरेटिङ अफिसर (सीओओ)का रूपमा नेतृत्वदायी भूमिका सम्हाल्छन्। मोतीलाल नेहरु राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) बाट बीटेक स्नातक उनी यसअघि पेटीएममा ‘प्रडक्ट म्यानेजर’का रूपमा काम गरेका थिए।
“खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिंग फ्लोर पुग्दासम्मको यो यात्रा मेरा लागि सपनाजस्तै हो। लगानीकर्ताको यति ठूलो उत्साहले हाम्रो सोचलाई अनुमोदन गरेको देख्दा हामी निकै नै धन्य भएका छौँ। यस आईपीओ नै हाम्रो अन्तिम लक्ष्य होइन, यो त महत्त्वाकाङ्क्षी यात्राको सुरुवात मात्र हो,” थापाले यस कोसेढुङ्गाका बारेमा भने।
“नयाँ पूँजीसाथ हामी अब कम्पनीको विश्वव्यापी विस्तारलाई तीव्र पार्न, हाम्रा नवीन प्लेटफर्महरूलाई अझ बलियो बनाउन र सीमापार साइबर सुरक्षामा अझ ठूलो प्रभाव सिर्जना गर्नका लागि तयार भएका छौँ।” क्रतिकल टेक लिमिटेडको स्थापना सन् २०१३ मा हाल सह-संस्थापक रहेका एकजनाको इमेल क्याम्पसको साझा कम्प्युटरमार्फत ह्याक भएसँगै भएको थियो। उक्त व्यक्तिगत घटनाले उनीहरूलाई साइबर सुरक्षाको व्यापक आवश्यकतालाई उजागर गरेको उनीहरू सम्झन्छन्। यसरी यी तीनैजना सहपाठीलाई व्यावहारिक, संस्थागत ग्रेड साइबर सुरक्षा समाधानहरू निर्माण गर्न प्रेरित गर्यो।
आजका दिनमा कम्पनीले विशेषज्ञ परामर्श र नियामक कम्प्लायन्स सेवाहरू सहित एआई-संचालित, SaaS-आधारित सुरक्षा प्लेटफर्म प्रदान गर्दछ। जसका समाधानहरूले BFSI, फिनटेक, टेलिकम, IT/ITES, स्वास्थ्य सेवा, औषधि, ई-कमर्स, निर्माण लगायतका क्षेत्रमा भारत, मध्यपूर्वसहितका अन्तर्राष्ट्रिय बजारका ग्राहकहरूलाई सेवा दिन्छ।
झण्डै ९ वर्षअघि चारजना ‘एन्जल इन्भेस्टर्स’बाट स्रोत जुटाएको क्रतिकल टेक लिमिटेडको हाल मूल्य लगभग ३२३ करोड नेपाली रुपैयाँ छ। आईपीओबाट प्राप्त लगानीले अमेरिका र मध्य पूर्वसहितका भूभागमा आक्रामक विस्तार योजनाहरूलाई प्रोत्साहन गर्ने क्रतिकलले जनाएको छ। नेपालमा साइबर सुरक्षा सम्बन्धी आफ्नो भूमिका विस्तारका क्रममा क्रतिकलले काठमाडौँस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजीजसँग साझेदारी गरेको छ।

