
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त

काठमाडौं । इरानका सर्वोच्च नेता मोजताबा खामेनीले घोलामहोस्सेन मोहसेनी–एजेईलाई दोस्रो पाँचवर्षे कार्यकालका लागि न्यायपालिका प्रमुखमा पुनः नियुक्त गरेका छन् ।
आइतबार इरानी सञ्चारमाध्यममा प्रकाशित आदेशमा सर्वोच्च नेता खामेनीले मोहसेनी–एजेईले पहिलो कार्यकालमा न्यायपालिकाको नेतृत्व गर्दै गरेको योगदानको प्रशंसा गरेका छन् ।
उनले आफ्ना पूर्ववर्ती अली खामेनीद्वारा जारी निर्देशन तथा जुनको अन्त्यमा आफूले व्यक्त गरेका भनाइले इरानको न्यायपालिकामा सुधारका प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
मोहसेनी–एजेई पहिलो पटक सन् २०२१ को जुलाईमा न्यायपालिका प्रमुख नियुक्त भएका थिए । इरानको संविधानअनुसार न्यायपालिका प्रमुख नियुक्त गर्ने अधिकार सर्वोच्च नेतामा निहित छ ।

