
प्रेस स्वतन्त्रता हनन होला भनी चिन्तित नहुनुस् : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको प्रष्ट्याएका छन् । आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको बताए । मन्त्री तिमिल्सिनाले लोकतन्त्रको मूल आधार नै प्रेस स्वतन्त्रता भएकाले त्यसलाई कसैले पनि हनन गर्न नसक्ने बताए । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्था रहेको उनले उल्लेख गरे।
‘हामी १०० दिन नागरिकलाई रिजल्ट देखाउन अत्यन्तै व्यस्त थियौं । यसबीचमा सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न खोज्यो भन्ने मनसाय धेरैको रहेको पाए । तर यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरुमा अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको आधारस्तम्भ भनेको प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ । कसैले पनि प्रेस स्वतन्त्र हनन गर्न सक्दैन,’ उनले भने ।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रेस स्वतन्त्रता हननसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए । पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा उल्लेख गर्दै उनले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको बताए ।

