
साढे १९ प्रतिशतले बढ्यो पर्यटक आगमन

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुन महिनामा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो ।
यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो ।
मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । जसमा चीनबाट ८ हजार ८७५ पर्यटक आगमन भएको छ भने जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।
युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् । अमेरिकाबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।
त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन् ।

