
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित भएको छ।
आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो। विधेयकमाथिका संशोधन प्रस्तावहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य गर्दै बजेट कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाए।
सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्दै उनले अर्थतन्त्र सुधारका लागि ल्याइएको महत्त्वाकांक्षी बजेटको सकारात्मक असर आगामी वर्षदेखि देखिने दाबी गरे। यस्तै उनले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने र त्यसकै सिफारिसका आधारमा निर्णय लिइने जानकारी दिए।
बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने र राजस्व संकलनमा समस्या आए आपतकालीन व्यवस्था मिलाइने बताउँदै मन्त्री वाग्लेले अर्बौँको कारोबार गरिरहेका राइड सेयरिङ व्यवसायलाई समेत करको दायरामा ल्याउन सरकारले आवश्यक नीति बनाउन लागेको उल्लेख गरे।
छलफलका क्रममा आर्थिक विधेयकमाथि दर्ता भएका केही संशोधन प्रस्तावहरू फिर्ता वा अस्वीकृत भएका छन् भने केहीलाई स्वीकार गरिएको छ।

