
सार्वजनिक संस्थानका कर्मचारीलाई ‘एआई’ प्रयोग तालिम दिने

काठमाडौं । उद्योग तथा उत्पादन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तथा पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीहरूलाई एआईको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। चालु आर्थिक वर्षभित्र दुई वटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
यस्तै, पेट्रोलमा इथानोल मिश्रणको प्रयोगलाई प्रवर्द्धन गर्न सरोकारवाला निकायहरूसँग उत्पादक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ। यसअन्तर्गत तीन वटा कार्यक्रम आयोजना गर्ने योजना रहेको छ।
सरकारले प्रविधिमैत्री उत्पादन प्रणालीको विकास, औद्योगिक दक्षता अभिवृद्धि तथा वैकल्पिक ऊर्जा स्रोतको उपयोग विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
एआईसम्बन्धी कार्यक्रमले सार्वजनिक संस्थानहरूमा कार्यसम्पादन सुधार, सेवा प्रवाहमा दक्षता वृद्धि तथा उत्पादकत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी कार्यक्रमले स्वदेशी उत्पादनको उपयोग, इन्धन आयातमा निर्भरता न्यूनीकरण तथा वातावरणीय प्रदूषण नियन्त्रणमा योगदान पुर्याउने विश्वास गरिएको छ। उक्त दुई वटा कार्यक्रमका लागि ३ लाख बढी रकम विनियोजन गरिएको छ ।

