
खाद्य बालीको क्षेत्रफल घट्दा तरकारी तथा बागवानी खेतीमा उत्साहजनक वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार खाद्य बालीको क्षेत्रफल घट्दा तरकारी तथा बागवानी खेतीमा उत्साहजनक वृद्धि भएको छ । राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन २०८२/८३ को अर्ध–वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४.२१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९२ प्रतिशतले घटेको थियो। यसले खाद्य बालीतर्फको खेतीयोग्य क्षेत्र निरन्तर खुम्चिँदै गएको संकेत गरेको छ।
खाद्य तथा अन्य बालीअन्तर्गत कुल क्षेत्रफलमध्ये धानको हिस्सा सबैभन्दा बढी ३६.८२ प्रतिशत रहेको छ। प्रमुख खाद्य बालीमध्ये मकैले २३.४६ प्रतिशत क्षेत्र ओगटेको छ भने गहुँको हिस्सा १४.२२ प्रतिशत रहेको छ। यस्तै, कोदो बालीले ५.५८ प्रतिशत र जौ बालीले ०.३९ प्रतिशत क्षेत्रफल ओगटेको छ।
यता, तरकारी तथा बागवानी खेतीमा भने सकारात्मक वृद्धि देखिएको छ। समीक्षा अवधिमा तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल ९.१० प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा यस्तो वृद्धि केवल ०.४१ प्रतिशत रहेको थियो। यसले किसानहरू नगदे तथा व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएको संकेत गर्दछ।
फलफूल खेतीको क्षेत्रफल पनि बढेको छ। समीक्षा अवधिमा फलफूल बालीले ढाकेको क्षेत्रफल ०.७९ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, यो वृद्धि दर गत वर्षको सोही अवधिको १.३८ प्रतिशतको तुलनामा कम हो।
मसला बालीतर्फ भने गिरावट देखिएको छ। समीक्षा अवधिमा मसला बालीले ढाकेको क्षेत्रफल ६.६६ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा भने मसला खेतीको क्षेत्रफल ५.८२ प्रतिशतले बढेको थियो।
प्रदेशगत रूपमा मिश्रित अवस्था
प्रदेशगत तथ्यांकअनुसार बागमती र कर्णाली प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल बढेको छ भने कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा घटेको छ।
तरकारी तथा बागवानी खेतीको क्षेत्रफल मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढेको छ भने कोशी, बागमती र सुदूरपश्चिम प्रदेशमा कमी आएको छ।
फलफूल खेतीको क्षेत्रफल कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढेको छ। तर बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा फलफूल खेतीको क्षेत्रफल घटेको देखिएको छ।
मसला खेतीको क्षेत्रफल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशहरूमा घटेको छ।
धान खेतीको क्षेत्रफलका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ। देशभरको कुल धान खेती क्षेत्रफलमध्ये मधेश प्रदेशको हिस्सा २५.९६ प्रतिशत रहेको छ। विपरीत रूपमा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम २.९२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
कृषि क्षेत्रको पछिल्लो प्रवृत्तिले परम्परागत खाद्य बालीको क्षेत्रफल खुम्चिँदै जाँदा किसानहरू बढी आम्दानी हुने तरकारी, बागवानी तथा अन्य व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेको संकेत गरेको छ। यसले कृषि उत्पादनको संरचनामा क्रमशः परिवर्तन भइरहेको देखाएको छ।
खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कोशी प्रदेशको हिस्सा सबैभन्दा धेरै २४.०८ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ७.४५ प्रतिशत रहेको छ (तालिका ३.१) । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा मधेश प्रदेशको हिस्सा सबैभन्दा धेरै ३२.२४ प्रतिशत र गण्डकी प्रदेशको हिस्सा सबैभन्दा कम ७.१८ प्रतिशत रहेको छ । फलपूल बालीले ढाकेको क्षेत्रफलमा मधेश प्रदेशको हिस्सा सबैभन्दा धेरै ३२.५९ प्रतिशत र बागमती प्रदेशको हिस्सा सबैभन्दा कम ७.५० प्रतिशत रहेको छ । यसैगरी, मसला बालीले ढाकेको क्षेत्रफलमा कोशी प्रदेशको हिस्सा सबैभन्दा धेरै ४०.१३ प्रतिशत र बागमती प्रदेशको हिस्सा सबैभन्दा कम ७.५६ प्रतिशत रहेको छ ।


