
सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो, सबै भेरियन्टमा एक लाख रुपैयाँसम्म छुट



काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक CG Motocorp Pvt. Ltd. ले सरकारले विद्युतीय सवारीसाधन (BEV) मा गरेको कर तथा भन्सार महसुल संरचना परिवर्तनपछि Suzuki e-Vitara का सबै भेरियन्टको मूल्य घटाएको घोषणा गरेको छ।
कम्पनीले तत्काल प्रभावबाट लागू हुने गरी e-Vitara का चारै भेरियन्टमा एक लाख रुपैयाँसम्म मूल्य कटौती गरेको जनाएको छ। कम्पनीका अनुसार सरकारले प्रदान गरेको राजस्व तथा भन्सार सहुलियतको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने उद्देश्यले मूल्य समायोजन गरिएको हो।
संशोधित मूल्यअनुसार ४९ kWh ब्याट्री क्षमतायुक्त e-Vitara Delta भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि यसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ५२ लाख ९९ हजार रुपैयाँ रहेको थियो।
त्यसैगरी ६१ kWh ब्याट्री क्षमताको e-Vitara Zeta को मूल्य ५२ लाख ९९ हजार रुपैयाँ, e-Vitara Alpha को ५८ लाख ९९ हजार रुपैयाँ तथा फ्ल्यागसिप ड्युअल–टोन Alpha DT भेरियन्टको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी परिचयात्मक मूल्यहरू पहिलो १०० बुकिङका लागि मात्र लागू हुनेछन्। बजेटपश्चात् संशोधित मूल्य भने सबै नयाँ बुकिङ तथा अपूर्ण अर्डरहरूमा तत्काल प्रभावबाट लागू गरिएको छ। CG Motocorp तथा CG Holdings का प्रबन्ध निर्देशक करण चौधरीले सरकारले विद्युतीय सवारीसाधनलाई थप सुलभ बनाउने वातावरण सिर्जना गर्दा त्यसको सम्पूर्ण लाभ ग्राहकसम्म पुर्याउनु आफ्नो दायित्व भएको बताए।
उनले नेपालले पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनको प्रयोगमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै त्यही अभियानलाई बलियो बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए।
कम्पनीका अनुसार Suzuki e-Vitara नेपालमा उपलब्ध पहिलो जापानी ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) हो। HEARTECT-e प्लेटफर्ममा आधारित यो गाडीमा २,७०० मिलिमिटर ह्वीलबेस, लेभल–२ ADAS, ५-स्टार BNCAP सुरक्षा र सबै भेरियन्टमा Vehicle-to-Load (V2L) सुविधा उपलब्ध छ।
हाल e-Vitara नेपालभर २५ वटा आधिकारिक बिक्री केन्द्र, ४० वटा बिक्रीपछिका सेवा केन्द्र तथा दक्ष ईभी प्राविधिकहरूको नेटवर्कमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।


