
बालेन शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै रवि किरण हमालद्वारा माफी माग्न माग



जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, कूटनीतिक मर्यादाको उल्लङ्घन तथा अपरिपक्व भएको आरोप लगाउँदै उक्त भनाइ तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
बुधबार जारी प्रेस वक्तव्यमा हमालले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको वर्षौंदेखिको पीडा र अपमानलाई थप बल्झाएको दाबी गरेका छन्। उनले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन्।
वक्तव्यमा हमालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर नेपाली जनतासँग माफी माग्नुपर्ने उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री आफ्नो अभिव्यक्तिमा अडिग रहने हो भने नैतिक तथा राजनीतिक जिम्मेवारी वहन गर्दै पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि राखेका छन्।
“राष्ट्रभन्दा माथि कुनै व्यक्ति वा पद हुन सक्दैन,” वक्तव्यमा भनिएको छ, “नेपालको राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्नु हरेक जिम्मेवार नेतृत्वको दायित्व हो।”
प्रधानमन्त्री बालेन्द्र शाहको उक्त अभिव्यक्तिबारे विभिन्न राजनीतिक वृत्तमा समेत बहस जारी रहेको छ। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।


