
राजस्व बढाउन राष्ट्रिय चिठ्ठा योजना ल्याइँदै, रेमिट्यान्स पठाउने नेपालीलाई पनि सहभागी गराइने



काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व संकलनलाई प्रभावकारी बनाउन राष्ट्रिय चिठ्ठा (लटरी) प्रणाली लागू गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले प्रत्येक भ्याट बिललाई स्वतः लटरी टिकटको रूपमा प्रयोग गर्ने व्यवस्था गरिने जानकारी दिए।
यस व्यवस्थाले उपभोक्तालाई भ्याट बिल लिन प्रोत्साहन गर्ने र करको दायरा विस्तार गर्न सहयोग पुग्ने विश्वास सरकारको रहेको उनले बताए।अर्थमन्त्री वाग्लेका अनुसार वैदेशिक रोजगारीबाट रेमिट्यान्स पठाउने नेपालीलाई पनि यही प्रणालीमा समेटिनेछ । रेमिट्यान्स कारोबार गर्ने सेवाग्राहीहरूलाई समेत लटरी योजनामा सहभागी गराइने व्यवस्था मिलाइएको उनले बताए।
“हरेक दिन कसै न कसैलाई लखपति बनाइने छ,” उनले भने। साना–साना कारोबारलाई समेत औपचारिक प्रणालीमा ल्याउने लक्ष्य सरकारको रहेको उनको भनाइ थियो।
उनले आगामी आर्थिक वर्षका लागि करिब १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको जानकारी दिँदै उक्त लक्ष्य हासिल गर्न उपभोगमा आधारित राजस्व रणनीति अवलम्बन गरिएको बताए ।


