
एएमएल नेपालद्वारा गरिमा क्यापिटलका कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एकदिने तालिम सम्पन्न



काठमाडौं । एएमएल नेपालद्वारा गरिमा क्यापिटलका कर्मचारीहरूका लागि धितोपत्र बजार सम्बन्धी एकदिने सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) तालिम सफलतापूर्वक सम्पन्न भएकाे छ ।
नेपालमा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (सीएफटी) सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था एएमएल नेपालले गरिमा क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सीएफटी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त तालिम कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, नेपाल धितोपत्र बोर्ड (सेबोन) को एएमएल निर्देशिका अनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा विस्तृत प्रस्तुति गरिएको थियो ।
तालिमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी तथा लेखानाथ पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा गरिमा क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौतीहरू तथा उत्कृष्ट अभ्यास बारे सक्रिय छलफल गरेका थिए । कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पुँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएल/सीएफटी अनुपालन अपरिहार्य रहेको उल्लेख गर्दै यसले वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
एएमएल नेपाल नेपालमा एएमएल/सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्याङ्कन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्ने अग्रणी विशेषीकृत संस्था हो । संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य प्रतिवेदन बुझाउने निकायहरू (रिपोर्टिङ एन्टिटिज) लाई समग्र एएमएल/सीएफटी समाधान उपलब्ध गराउँदै आएको छ ।


