
राष्ट्र बैंकले गरेन स्वाभिमान लघुवित्तले गर्यो लाभांश स्वीकृत, सेयरधनीको हात खाली



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । लघुवित्तले अब सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो ।
वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको लघुवित्तले बताएको छ ।


