
खप्तड–बडीमालिका जोड्ने केबलकार बनाउने तयारी, अध्ययनपछि डीपीआर र बजेट ल्याइने



काठमाडौं । सुदूरपश्चिमका प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रलाई जोड्ने गरी खप्तडदेखि बडीमालिकासम्म केबलकार निर्माणको तयारी अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले खप्तड, रामारोसन र बडीमालिकालाई एउटै पर्यटन सर्किटका रुपमा विकास गर्ने अवधारणा अघि सारेको हो।
राष्ट्रिय योजना आयोगका एक सदस्यका अनुसार बडीमालिका, खप्तड, रामारोसन तथा शुक्लाफाँटा जस्ता क्षेत्रलाई एकीकृत रुपमा विकास गर्न सके सुदूरपश्चिममा पर्यटनको ठूलो सम्भावना सिर्जना हुने विश्वास गरिएको छ ।
“सुदूरपश्चिममा बडीमालिका छ, खप्तड छ, शुक्लाफाँटा छ। यी ठाउँले धेरै पर्यटक तान्न सक्छन्,” उनले भने, “सबै जना मिलेर काम गर्ने हो भने केन्द्र सरकारले पनि त्यहाँ फोकस गरेर कार्यक्रम ल्याउन सक्छ।”
आयोगले विशेषगरी खप्तड, रामारोसन र बडीमालिकालाई एउटै क्षेत्रीय पर्यटन नेटवर्कका रुपमा जोड्ने योजना बनाएको जनाएको छ । उनका अनुसार खप्तड र बडीमालिकाबीच पर्ने रामारोशनलाई समेत समेटेर सडक तथा पूर्वाधार विस्तार गरिने अवधारणा अघि बढाइएको हो ।
“खप्तड, रामारोसन र बडीमालिका एउटै एरियामा छन्,” उनले भने, “रामारोसनलाई कर्णाली करिडोरसँग जोड्न सकियो भने त्यसले थप सहजता ल्याउँछ।”
हाल यी ३ वटै पर्यटकीय क्षेत्रमा सडक पहुँच भने अझै कमजोर रहेको छ। खप्तड क्षेत्रमा अहिले डोटीको झिग्राना र बझाङको मेल्तडीसम्म मात्र कच्ची सडकको ट्र्याक खुलेको छ। त्यसपछि खप्तड पुग्न अझै ४ देखि ८ घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ । सडक स्तरोन्नति र कालोपत्रे नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुने समस्या कायम छ।
बडीमालिकामा बाजुराको सदरमुकाम मार्तडीसम्म सडक पुगे पनि मुख्य मन्दिर क्षेत्रसम्म सवारी साधन पुग्दैन । मार्तडी तथा साँफेबगरबाट बडीमालिका जोड्ने विभिन्न सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ।
त्यस्तै रामारोसन क्षेत्रमा अछामको जयगढ वा तिमिल्सैनसम्म सवारी साधन पुग्ने भए पनि वर्षायाममा सडक अवरुद्ध हुने समस्या रहेको छ। मंगलसेन हुँदै रामारोसन पुग्ने सडक स्तरोन्नतिको काम जारी रहेको बताइएको छ।
यही कमजोर सडक पहुँचलाई मध्यनजर गर्दै खप्तडदेखि बडीमालिकासम्म केबलकार निर्माणको प्रस्ताव अघि बढाइएको आयोगको भनाइ छ । आयोगका ती अघिकारीका अनुसार केबलकार निर्माणको प्रस्ताव निजी क्षेत्रबाट आएको हो भने केन्द्र सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग गर्ने योजना बनाइएको छ।
“खप्तडबाट बडीमालिकासम्म केबलकारको प्रस्ताव आएको छ,” उनले भने, “यदि राम्रो सडक पुर्याइयो भने केबलकारको दूरी पनि छोटो हुन्छ र पर्यटकलाई राम्रो अनुभव पनि दिन सक्छ।”
संरक्षित क्षेत्रलाई प्रत्यक्ष असर नपर्ने गरी सडक विस्तार गरिने र त्यसपछि मध्यवर्ती क्षेत्रबाट केबलकार सञ्चालन गर्ने अवधारणा रहेको छ। हाल परियोजनाको प्रारम्भिक अध्ययन भइरहेको र आगामी वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने उनले बताए ।
“यो वर्ष अध्ययन गर्दैछौं, अर्को वर्ष डीपीआर बनाएर बजेटमा राख्ने विचार छ,” उनले भने, “सुरुमा धेरै बजेट नराखेर अध्ययनका लागि मात्रै रकम छुट्याउने सोच बनाइएको छ।” केबलकार निर्माण निजी कम्पनीमार्फत अघि बढाउने तयारी छ भने सरकारको ध्यान सडक र आधारभूत पूर्वाधार विस्तारमा रहनेछ ।


