
गर्भनर पौडेल र एपीजीका प्रतिनिधिबीच भेटवार्ता



काठमाडौं । गभर्नर डा. विश्व पौडेल र नेपाल भ्रमणमा रहेको एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का उपकार्यकारी निर्देशक डेभिड शानन नेतृत्वको टोलीबीच मंगलबार भेटवार्ता भएको छ ।
सो अवसरमा दुई पक्षबीच फाइनन्सियल एक्शन टास्क फोर्स (एफटीएफ) को सघन अनुगमन खैरो सूची (ग्रे–लिस्ट) मा सूचीकृत भएपश्चात् नेपालले गरेको प्रगतिका अवस्था र आगामी रणनीतिबारे छलफल भयो ।
साथै, बैंकिङ क्षेत्रको सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कन तथा जोखिममा आधारित सुपरिवेक्षण, कानुनी तथा नीतिगत सुदृढीकरण, पारदर्शिता प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रसँगको समन्वय, ‘इन्टरनेशनल कोपेरशन रिभ्यू ग्रुप’ (आइजीआरजी) मा गरिने रिपोर्टिङ लगायतका विषयमा समेत छलफल भएको थियो ।
भेटवार्तामा “ग्रे–लिस्ट” सूचीबाट बाहिरिने सन्दर्भमा संस्थागत क्षमता विकास र अन्तर्राष्ट्रिय वित्तीय निकायबाट प्राप्त हुनसक्ने सम्भाव्य प्राविधिक सहयोगका विषयमा समेत छलफल भएको थियो ।
त्यस क्रममा गभर्नर पौडेलले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सुझावको कार्यान्वयनका निम्ति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
नेपाल एफटीएफको “ग्रे–लिस्ट” मा परेपछि एपीजीको तर्फबाट भएको यो पहिलो भ्रमण हो । भेटवार्तामा एपीजका नीति प्रमुख किया सासन र विश्व बैंकका अधिकारीहरूको समेत उपस्थिति थियो ।


