इ-सेवाले भन्यो:ग्राहकहरुको रकम असुरक्षित छैन,भ्रमको पछि नलाग्नु
काठमडौं । इ-सेवामार्फत ग्राहकहरुको रकम असुरक्षित भएका विभिन्न विषय बाहिरीएसँगै त्यसको जवाफ सम्बन्धित सारोकारवाला (इ-सेवा) कम्पनीले दिएको छ । प्रेस विज्ञप्ती जारी गर्दै इ सेवाले आफूहरु माझ रहेको ग्राहकका रहेक रकम सुरक्षित रहेको र कुनै पनि किसिमका भ्रममा नपर्न समेत अनुरोध गरेको हो ।
यस्तो छ इ सेवाको विज्ञप्ती पत्र
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरुको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गर्दछौं । केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको छ ।
इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराउन चाहान्छौं । सर्वप्रथम इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौं । भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ ।
आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न इसेवा आग्रह गर्दछ । इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेकोमा इसेवा विश्वस्त पार्न चाहन्छ ।