
टाटा मोटर्सको बिक्री ३१.१ प्रतिशतको वृद्धि, अप्रिल २०२६ मा ५९ हजार ७०१ युनिट बिक्री



काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले अप्रिल २०२६ मा आफ्नो बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ ।
कम्पनीले मे १, २०२६ मा मुम्बईमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको अप्रिल महिनामा कुल ५९ हजार ७०१ युनिट सवारी साधनहरू बिक्री भएका छन् ।
यो संख्या अघिल्लो वर्षको सोही महिना (अप्रिल २०२५) मा भएको ४५,५३२ युनिटको बिक्रीको तुलनामा ३१.१ प्रतिशतको वृद्धि हो । यस बिक्री प्रतिवेदनमा टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडको बिक्रीलाई पनि समावेश गरिएको छ ।
कम्पनीको स्वदेशी बजार र निर्यात दुवै क्षेत्रमा सकारात्मक नतिजा देखिएको छ । स्वदेशी बजारमा अप्रिल २०२६ मा ५९,००० युनिट सवारी साधन बिक्री भएका छन् । जुन गत वर्षको ४५ हजार १९९ युनिटको तुलनामा ३०.५ प्रतिशतले बढी हो ।
त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार ( तर्फ कम्पनीले उल्लेख्य प्रगति गर्दै ११०.५ प्रतिशतको वृद्धि दर्ता गरेको छ । गत वर्ष अप्रिलमा ३३३ युनिट निर्यात भएकोमा यस वर्ष सोही अवधिमा ७०१ युनिट पुगेको छ ।
विशेष गरी विद्युतीय सवारी साधन (इभी) को क्षेत्रमा टाटा मोटर्सले आफ्नो बलियो उपस्थिति कायम राखेको छ । अप्रिल २०२६ मा विद्युतीय सवारी साधनको कुल बिक्री (स्वदेशी र अन्तर्राष्ट्रिय दुवै गरी) ९ हजार १५० युनिट पुगेको छ ।
यो संख्या अघिल्लो वर्षको अप्रिल महिनामा भएको ५ हजार ३१८ युनिटको बिक्रीको तुलनामा ७२.१ प्रतिशतको वृद्धि हो । कम्पनीले भारतमा विद्युतीय सवारी साधनको क्रान्तिलाई नेतृत्व गर्दै दिगो यातायातका साधनहरूमा जोड दिइरहेको छ ।
१८० बिलियन अमेरिकी डलरको टाटा समूहको एक हिस्सा रहेको यस कम्पनीलाई पहिले टाटा मोटर्स लिमिटेडका रूपमा चिनिन्थ्यो । माननीय राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण, मुम्बई बेन्चको स्वीकृति बमोजिम अक्टोबर १३, २०२५ देखि कम्पनीको नाम परिवर्तन भई टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेड कायम भएको हो ।
हाल कम्पनीले आफ्ना नवीन डिजाइन, सुरक्षा र कार्यक्षमताका लागि प्रसिद्ध कार तथा एसयूभीहरूको विविध पोर्टफोलियो मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।


