
भीस्याट र अन्य प्रविधिमार्फत दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै नेपाल टेलिकम



काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरुमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउं कुगाउँ तथा निजाल, च्छो-रोल्पा पदमार्ग रहेको दोलखाको ना – गाउँ र गोसाईकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा बिस्तार गरिएको छ ।
हाल नेपाल टेलिकमले यस्ता विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यो प्रविधिका सबैभन्दा बढी अर्थात १४ साइट डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउंमा यी साइट रहेका छन् ।
हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा ), सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा साइट रहेका छन् ।
यसैगरी मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना – गाउँ ( च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन् ।
नेपाल टेलिकमले शहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम वस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भीस्याट प्रविधिको प्रयोग गरेको छ । यस्ता दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकप्टरबाट उपकरण र सामानहरु ओसारेर समेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउंदै आएको छ ।
यस्ता स्थानहरुमा कम्पनीले गरेको लगानीबाट व्यवासायिक लाभ हासिल हुँदैन । यो विशुद्ध रुपमा ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार‘ भन्ने कम्पनीको मुल नारालाई साकार बनाउने प्रयास मात्र हो । आगामी दिनमा यी साइटहरुलाई अन्य प्रविधिमार्फत स्तरोन्नति गर्ने कार्य गरिने छ ।
नेपाल टेलिकमद्वारा कार्यान्वयन भइरहेको ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत यी कार्य भइरहेका छन् । त्यसैगरी ब्याकबोन प्रसारण निर्देशनालय अन्तर्गत सञ्चालित अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत पूर्व-पश्चिम तथा उत्तर-दक्षिण करिडोरसँगै प्रमुख सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रहरूमा उच्च क्षमतायुक्त, सुरक्षित तथा भरपर्दो डाटा ट्रान्समिसन सेवा सुनिश्चित गर्नका लागि आवश्यक कार्य समेत भइरहेका छन् ।
निर्देशनालय अन्तर्गत ब्याकबोन सुदृढीकरण कार्यक्रमका विविध गतिविधिहरू चरणबद्ध रूपमा कार्यान्वयन भइरहेका छन् । यस अनुसार विभिन्न स्थानमा अप्टिकल फाइबर केबल (ओएफसी) सर्भे, एडीएसएस ओएफसी विस्तार लगायतका कार्य भइरहेका छन् ।
नेपाली सेना, सडक विभाग लगायतका निकायसंग मिलेर विभिन्न सडकहरुमा अन्डरग्राउन्ड ओएफसी विस्तार कार्य भइरहेको छ । त्यसैगरी विकट ग्रामीण क्षेत्र तथा विभिन्न सडकहरुमा अप्टिकल फाइबर ट्रान्समिसन नेटवर्क विस्तारका लागि आवश्यक कार्य भइरहको छ ।
उपकरण तथा नेटवर्क सुदृढीकरणतर्फ उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरणहरूको जडान तथा स्थानान्तरणमार्फत नेटवर्क क्षमतामा उल्लेखनीय अभिवृद्धि गरिएको छ । पुराना स्विच उपकरणहरूलाई आधुनिक राउटरमा स्तरोन्नति गरिएको छ ।
विभिन्न स्थानमा रहेका लिंकहरुको क्षमता अभिवृद्धि गरिनुका साथै ब्याकअपको रुपमा वैकल्पिक (Redundant ) लिंक स्थापना गरिएको छ । यसले गर्दा एउटा लिंकमा समस्या आए पनि वैकल्पिक रुपमा अर्को लिंकबाट सेवा प्रवाह गर्न सकिन्छ । त्यसैगरी माइक्रोवेभ लिंक अपग्रेड गर्ने कार्य समेत भइरहेका छन् ।
विशेषतः न्युन जनसंख्या रहेका देशका अति दुर्गम तथा विकट भौगोलिक स्थानहरुमा भरपर्दो र सर्वसुलभ दुरसञ्चार सेवा पुयाउने उद्देश्य अनुरुप विभिन्न कार्य भइरहेका छन् । ती स्थानहरुमा सेवा निरन्तरता सुनिश्चित गर्न वैकल्पिक लिंक विस्तार, सम्बन्धित निकायहरूसँग समन्वय, मर्मतसम्भार सेवा खरिद तथा पूर्वाधार संरक्षणका उपायहरू अवलम्बन गरिएका छन् ।




