
नरैनापुरमा आगलागीबाट १३ घरगोठ जले



बाँके। बाँकेको नरैनापुर गाउँपालिका ३‚ गेग्ली गाउँमा आगलागी हुँदा १३ घरगोठ जलेका छन्। फुसको छानो भएको बस्तीमा मंगलबार भएको आगजनीबाट नौ घर र चार गोठ जलेर पूर्ण नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक गणेशराज उप्रेतीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि गहुँ, चामल, दाललगायत खाद्यान्न र कपडा नष्ट भएका छन्। आगलागी भएको जानकारीपछि नेपालगन्ज उपमहानगरपालिकाको र नरैनापुर गाउँपालिकाको गरी दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो। यस्तै आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा पनि खटिएका थिए। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उप्रेतीले बताए।


