
अमेरिका–इजरायल र इरानबीचको युद्धमा ६ हजारभन्दा बढीको मृत्यु, मध्यपूर्वमा ठूलो मानवीय संकट



काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको हालको युद्धले मध्यपूर्व क्षेत्रमा ठूलो मानवीय क्षति पुर्याएको छ । अल ज जिराका अनुसार यस संघर्षमा हजारौँ मानिसले ज्यान गुमाएका छन् र लाखौँ प्रभावित भएका छन्।
इरानमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ करिब ३ हजार ३७५ जनाको मृत्यु भएको बताइएको छ। यसमा बच्चा, महिला र वृद्धहरू समेत परेका छन्। त्यसैगरी लेबनानमा पनि ठूलो मानवीय संकट देखिएको छ, जहाँ करिब २ हजार २९४ जनाको ज्यान गएको छ र लाखौँ मानिस विस्थापित भएका छन्।
खाडी क्षेत्रका अन्य देशहरूमा पनि आक्रमणका असर देखिएका छन्। बहराइनमा ३ जना, इराकमा ११८ जना, ओमानमा ३ जना, कतारमा २० जना, साउदी अरबमा ३ जना र संयुक्त अरब इमिरेट्समा १२ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । कुवेतमा पनि घटनामा ७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
यसैबीच, इजरायलमा करिब २६ जना र संयुक्त राज्य अमेरिकामा १३ सैनिकको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।
यो युद्धले केवल सैन्य क्षति मात्र नभई नागरिक जीवनमा पनि गहिरो असर पारेको छ। अस्पताल, घर, पूर्वाधार र ऊर्जा प्रणालीमा क्षति पुगेको छ, जसले गर्दा जनजीवन थप कठिन बनेको छ। साथै, युद्धका कारण क्षेत्रीय अस्थिरता बढ्दै गएको र कूटनीतिक प्रयासहरू चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।


