
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन



काठमाडौँ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन् । स्थलगत निरीक्षणका क्रममा उहाँले पुल निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित ठेकेदार कम्पनीलाई कडा चेतावनी समेत दिए । अब कुनै पनि बहानामा काममा ढिलाइ नगरी तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उनको स्पष्ट निर्देशन रहेको बताइएको छ ।
सर्लाही ४ का सांसद सिंहले निर्माण कार्यमा कुनै किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकाय, स्थानीय सरोकारवाला पक्ष तथा समुदायलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न आग्रह गरेका छन् । उनले सरकारको स्पष्ट प्रतिबद्धताअनुसार पुललाई छिटोभन्दा छिटो सम्पन्न गरी रौतहट र सर्लाही जिल्लाबीच सशक्त र सहज आवतजावत सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरे। यसैबीच, सम्माननीय प्रधानमन्त्रीबाट समेत यस परियोजनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक निर्देशन दिइएको जनाइएको छ। प्रधानमन्त्रीस्तरबाट समेत प्राथमिकता पाएपछि परियोजना अब प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि अधुरो र अलपत्र अवस्थामा रहेको यो पुल अब छिट्टै पूर्णता पाउनेमा स्थानीयवासी आशावादी देखिएका छन् । पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाबीचको आवतजावत सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा समेत उल्लेखनीय सहजता आउने विश्वास गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखिको प्रतीक्षा अब अन्त्यतिर पुगेको महसुस गर्दै निर्माण कार्यलाई तीव्रता दिन सरकार र निर्माण कम्पनी दुवै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।


