
ट्याक्सीको नयाँ भाडा दर कायम, सुरुवाती भाडा ५८ रुपैयाँ



काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी सेवाको भाडा दरमा वृद्धि गरेको छ । श्रम,रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको नयाँ दररेट अनुसार अब ट्याक्सीको सुरुवाती भाडा ( फ्ल्याग डाउन ) ५८ रुपैयाँ कायम गरिएको छ ।
यसअघि २०८० भदौ ७ गते लागू भएको भाडादर अनुसार ५२ रुपैयाँ रहेको सुरुवाती भाडालाई समायोजन गरी ५८ रुपैयाँ पुर्याइएको हो । नयाँ भाडा दर अनुसार यात्रुले अब प्रति २०० मिटर यात्रा गरेबापत १२ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यसअघि १०.३४ रुपैयाँ रहेको थियो ।
यसैगरी, ट्याक्सीको प्रतिक्षा शुल्क प्रतिमिनेट १ रुपैयाँ तोकिएको छ भने ट्याक्सीले अधिकतम ३० मिनेटसम्म मात्र प्रतिक्षा गर्न पाउने व्यवस्था गरिएको छ ।
रात्रिकालीन समयमा ट्याक्सी प्रयोग गर्ने यात्रुहरूका लागि भने भाडा केही महँगो पर्नेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने ट्याक्सीको हकमा प्रति २०० मिटरको यात्रा शुल्क १७ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो भाडा दर इन्धनको मूल्यलाई मुख्य आधार मानेर समायोजन गरिएको हो । भविष्यमा पेट्रोलियम पदार्थको बजार मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढीले उतारचढाव आएमा सोही बमोजिम पुनः भाडा समायोजन गरिने राजपत्रमा उल्लेख छ ।


