
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम स्थगित



काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा र केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन कार्यक्रम स्थगित भएको छ। महासंघको निर्वाचन समितिकले आज एक सूचना जारी गर्दै पूर्वनिर्धारित निर्वाचन तालिका अर्को सूचना नभएसम्मका लागि रोकिएको जनाएको हो।
निर्वाचन प्रयोजनका लागि गठन गरिएको समितिले २०८२ सालमा प्रकाशित तालिका अनुसार प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा उच्च अदालत पाटन, ललितपुरबाट आएको अन्तरिम आदेशका कारण कार्यक्रम स्थगित भएको हो। अदालतकोआदेश अनुसार अदालतले यसअघि दायर गरिएको रिट निवेदनमा अन्तिम निर्णय नहुँदासम्म निर्वाचनसँग सम्बन्धित कार्यहरू अघि नबढाउन निर्देशन दिएको छ। अदालतको आदेशलाई सम्मान गर्दै महासंघले सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरेको जनाएको छ।
महासंघले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण प्रक्रिया रोकिएको जानकारी गराउँदै आगामी निर्णय अदालतको आदेश अनुसार हुने स्पष्ट पारेको छ। आज उच्च अदालत पाटनले सो आदेश दिएको हो।


