
पुणे प्लान्टबाट नयाँ ‘फक्सवागन टाइगुन’ को उत्पादन सुरु, ५-स्टार सुरक्षा र प्रिमियम फिचर्समा जोड



काठमाडाैं । स्कोडा अटो फक्सवागन इन्डिया प्राइभेट लिमिटेडले पुणेस्थित आफ्नो अत्याधुनिक कारखानाबाट नयाँ ‘फक्सवागन टाइगुन’ को उत्पादन आधिकारिक रूपमा सुरु गरेको छ।
समूहको ‘मेक इन इन्डिया’ भिजनलाई आत्मसाथ गर्दै यो नयाँ मोडललाई स्थानीयकरण र उच्च प्रविधिको सम्मिश्रणका साथ तयार पारिएको हो।
भारतीय र विश्वबजारका ग्राहकहरूको माग र प्रतिक्रियालाई ध्यानमा राख्दै यस पटक टाइगुनलाई अझ बढी प्रिमियम र सुविधाजनक बनाइएको कम्पनीले जनाएको छ।
नयाँ टाइगुनको डिजाइनमा व्यापक परिवर्तन गरिएको छ, जसले यसलाई पहिलेभन्दा अझ साहसी र आधुनिक रूप दिएको छ। कम्पनीका अनुसार ग्राहकहरूको सुझावलाई आधार मानेर यसमा धेरै प्रिमियम सुविधाहरू थपिएका छन्, जसले यात्रालाई सहज र व्यावहारिक बनाउनेछन्।
फक्सवागनको सिग्नेचर ‘युरोपियन ड्राइभिङ डायनामिक्स’ र उत्कृष्ट आरामदायी सुविधायुक्त यो गाडीमा कुनै सम्झौता बिनाको ५-स्टार सुरक्षा रेटिङ कायम गरिएको छ।
उत्पादन सुरु भएको अवसरमा स्कोडा अटो फक्सवागन इन्डियाका प्रबन्ध निर्देशक एवं सीईओ पियुष अरोराले भारतमा विश्वस्तरीय उत्पादन इकोसिस्टम परिपक्व भएको बताए। उनका अनुसार भारतमा उत्पादित यी गाडीहरूले विश्वव्यापी गुणस्तरका मापदण्डहरू पूरा गर्ने मात्र नभई भारतलाई निर्यातको एक रणनीतिक केन्द्रका रूपमा समेत स्थापित गरेका छन्। टाइगुन फक्सवागनको दक्षता, गुणस्तर र सुरक्षाको एक उत्कृष्ट उदाहरण रहेको उनको दाबी छ।
फक्सवागन इन्डियाका ब्रान्ड निर्देशक नितिन कोहलीले टाइगुनले ब्रान्डको एसयूभी रणनीतिलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
सन् २०२१ मा सार्वजनिक भएदेखि अहिलेसम्म १ लाख ४३ हजारभन्दा बढी टाइगुन उत्पादन भइसकेका छन्, जसमध्ये करिब ३० प्रतिशत विश्वका विभिन्न मुलुकहरूमा निर्यात गरिएको छ।
चाकन फ्याक्ट्रीबाट सुरु भएको यो उत्पादनले जर्मन इन्जिनियरिङ र प्रिमियम उत्पादन खोज्ने ग्राहकहरूको अनुभवलाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ।


