
शेयर बजारमा फेरी आयो रौनक, नेप्से ८३ अंकले बढ्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक सुधार देखिएको छ।
अघिल्लो दिन १०५.५० अंकको भारी गिरावट खेपेको सेयर बजार मापक नेप्से परिसूचक आज ८३.३३ अंक (३.११ प्रतिशत) ले बढेर २७६०.०२ विन्दुमा पुगेको छ।
आज कारोबार भएका १३ वटै उपसमूहका सूचकहरूमा हरियाली छाएको छ। जसमध्ये जलविद्युत् र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण सबैभन्दा उच्च देखियो, यी समूह क्रमश: ४.५९ र ४.०३ प्रतिशतले बढेका छन्। यस्तै, विकास बैंक ३.६३, लगानी ३.३३, होटल तथा पर्यटन ३.२४ र बैंकिङ समूह ३.१८ प्रतिशतले उकालो लागेका छन्।
बजारमा उत्साह फर्किए पनि कारोबार रकममा भने केही संकुचन आएको छ। दिनभर भएका १ लाख ४१ हजार ३६ पटकको कारोबारमार्फत ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँमा खरिद-बिक्री भएका छन्।
बजार समग्रमा सकारात्मक लयमा रहँदा २६४ कम्पनीको सेयर मूल्य बढेको छ। यस क्रममा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ भने अन्य ६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यद्यपि, बजारमा हरियाली छाएको दिन पनि भगवती हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सामान्य नोक्सानी व्यहोर्नु परेको छ।


