
सन नेपाल लाइफद्वारा बागमति प्रदेशमा जनचेतनामूलक कार्यक्रम सम्पन्न



काठमाडौं । बागमती प्रदेशमा Sun Nepal Life Insurance Company Limited द्वारा ६९औँ सहकारी दिवसको अवसर पारेर व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेश प्रमुख लोका माया अधिकारीको नेतृत्वमा प्रदेशभर विभिन्न सहकारी संस्थाहरूमा गई “क्रेडिट प्रोटेक्शन” सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गरिएको जानकारी दिइएको छ।
उक्त कार्यक्रम सफल पार्न रिजनल प्रमुखहरू सनत सत्याल र मुरारी प्रसाद तिवारी लगायत सम्पूर्ण शाखा प्रमुख, उपशाखा प्रमुख, कर्मचारी तथा इन्स्योरेन्स एडभाइजरहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदेश प्रमुख अधिकारीका अनुसार कार्यक्रमलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै तहबाट उल्लेखनीय सहयोग प्राप्त भएको थियो।
कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ वटै जिल्लामा एकै समयमा करिब ३० वटा शाखा तथा उपशाखामार्फत अभियान सञ्चालन गरिएको थियो। सहकारी संस्थासँगै पार्लर, विद्यालय, कलेज तथा कन्सल्टेन्सीहरूमा समेत पुगेर बीमा तथा क्रेडिट प्रोटेक्शनको महत्वबारे जनचेतना फैलाइएको थियो।
विशेषगरी एकै दिन १२५ भन्दा बढी कार्यालयहरूमा “क्रेडिट प्रोटेक्शन क्याम्पेन” कार्यक्रम सञ्चालन गरिनु यस अभियानको प्रमुख उपलब्धि मानिएको छ। यस किसिमका कार्यक्रमहरूले बीमाप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सुरक्षाबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। हाल Sun Nepal Life Insurance Company Limited ले देशैभर १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालन गरिरहेको छ।



