
मार्चमा सवा लाख पर्यटक नेपाल भित्रिए



काठमाडौं । सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ ।
तथ्यांकअनुसार, मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ ।
त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो ।
युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखय वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ ।


