
३३ पोखरी परिक्रमा मार्गलाई व्यवसायिक केन्द्र बनाउने पहल



काठमाडौं । भक्तपुरको ऐतिहासिक ३३ पोखरी परिक्रमा मार्गलाई परम्परागत व्यवसायसँग जोडेर “Heritage Business Corridor” का रूपमा विकास गर्ने पहल सुरु गरिएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यो मार्गलाई स्थानीय सीप, उत्पादन र समुदायको जीवनशैलीसँग जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिइएको छ।
यसै सन्दर्भमा, वि.सं. २०८३ बैशाख १ गते (नयाँ वर्ष) का दिन बैंक, सहकारी तथा विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक व्यक्तिहरूले उक्त मार्गको संयुक्त अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। यस अवलोकनमार्फत सम्भावित लगानी, सहकार्य तथा व्यवसायिक अवसरहरूको पहिचान गरिनेछ।
प्रस्ताव अनुसार, मार्गका विभिन्न खण्डहरूमा फूलमाला, फलामे काम, ताम्रकला, काठ तथा ढुंगा हस्तकला, कृषि तथा खाद्य उत्पादन, दुग्ध व्यवसाय, कपडा, सुनचाँदी, चित्रकला लगायतका परम्परागत पेशाहरूको पुनर्जीवन तथा बजारिकरण गरिनेछ। साथै सूचना प्रविधि, स्वास्थ्य सेवा, पुस्तक तथा इलेक्ट्रोनिक्सजस्ता आधुनिक सेवाहरू पनि समावेश गरिने योजना रहेको छ।
यस पहलले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै हराउँदै गएका परम्परागत पेशाहरूको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। विज्ञहरूका अनुसार, यस मार्गलाई व्यवस्थित रूपमा विकास गर्न सकिएमा पर्यटकहरूले एकै स्थानमा सांस्कृतिक, आर्थिक र जीवनशैलीको समग्र अनुभव लिन सक्नेछन्।
यसरी ३३ पोखरी परिक्रमा मार्ग धार्मिक परिक्रमा मात्र नभई भक्तपुरको समग्र सांस्कृतिक, पर्यटन र आर्थिक विकासको नयाँ आधार बन्ने विश्वास गरिएको छ।


