
रिलायबल नेपाल लाइफ काठमाडौ रिजनको अर्ध बार्षिक एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौं रिजनले २०८२ चैत्र ६ र ७ मा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा एक भव्य समारोहका बीच ‘अर्धवार्षिक एजेन्सी मेनेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१–२०८२ मा उत्कृष्ट व्यवसायिक नतिजा हासिल गर्ने एजेन्सी मेनेजर , एजेन्सी तथा अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्ने एमडीआरटी व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं रिजनका रिजनल मेनेजर यम पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबू तिवारी प्रमुख अतिथि रहेका थिए भने मार्केटिङ हेड शैलेन्द्र श्रेष्ठ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा काठमाडौं रिजन अन्तर्गतका सबै शाखाहरू मध्येबाट ‘रिजन टपर’ हुन सफल थानकोट शाखाकी सिनियर एजेन्सी मेनेजर सर्मिला बेल्बासेलाई विशेष सम्मान प्रदान गरिएको छ । बेल्बासेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै आफ्नो सफलताको श्रेय टिम र निरन्तरको परिश्रमलाई दिनुभयो। त्यसैगरी, व्यक्तिगत व्यवसायतर्फ रिजनमै उत्कृष्ट प्रदर्शन गर्ने थानकोट शाखाकी गिता नेपाललाई ‘सेल्फ कोड टपर’ को रूपमा प्रमुख अतिथिबाट सम्मानित गरिएको छ ।
बीमा क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्ने थानकोट शाखाका एमडीआरटी सुमेश महर्जन र थानकोट शाखाकै एमडीआरटी उदिप नेपाललाई पनि उनीहरुको विशेष योगदान र सफलताका लागि सम्मान प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न शाखाबाट सहभागी उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
सहभागीहरूलाई व्यवसायिक उचाइ र कार्यक्षमता अभिवृद्धि गर्नका लागि प्रख्यात मोटिभेसनल स्पिकर सुदिप बस्नेतले विशेष प्रशिक्षण तथा उत्प्रेरणा प्रदान गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबू तिवारी, मार्केटिङ हेड शैलेन्द्र श्रेष्ठ र रिजनल मेनेजर यम पोखरेलले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका छन् ।
१७० जनाभन्दा बढी एजेन्सी मेनेजरहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमले अभिकर्ताहरूमा नयाँ ऊर्जा थपेको र आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिका लागि थप हौसला मिलेको सहभागीहरूले बताएका छन्।

